विराटनगर। एपिएफले एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा जित हासिल गरेको छ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले पराजित गरेको हो। प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ आर्मीसँग २ विकेटले पराजित भएको थियो।
बागमती प्रदेशले दिएको ८१ रनको लक्ष्य एपीएफले ९. ४ ओभरमा दुई विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा एपिएफका ओपनर दीपक बोहराले सर्वाधिक ४८ रन बनाए। अविजित रहँदै बोहराले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। कप्तान सुमित महर्जनले १३ बलमा दुई चौका र एक छक्कासहित अविजित १८ रन बनाए। बागमतीका अशिम श्रेष्ठले दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको बागमती प्रदेशले १९. ३ ओभरमा ८० रनमा सबै विकेट गुमायो। बागमतीका कप्तान रित गौतमले सर्वाधिक ३१ रन योगदान दिए। बिबेक रानामगरले १३ तथा उत्तम थापामगरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
एपिएफका दायाँ हाते मिडियम पेसर प्रकाश जैसीले सर्वाधिक चार विकेट लिए। उनले पाँच ओभरमा एक मेडन गर्दै ३५ रन खर्चिए। अभिषेक गौतमले तीन, भोजराज भट्टले दुई र दिवान पुनले एक विकेट लिए।
समूह 'ए' अन्तर्गत अन्तिम खेलमा सोमबार बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी विजयी भए समूह विजेताको रुपमा फाइनल प्रवेश गर्नेछ। यदि बागमतीले आर्मीलाई पराजित गरेको खण्डमा भने नेट रन रेटमा तीन टिममध्ये उत्कृष्ट हुने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।