काठमाडौं। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाल यल्लोले कोर क्यापमा नेपाल ग्रिनमाथि सानदार जित निकालेको छ।
शनिबार सम्पन्न खेलमा आशिफ शेखको कप्तानीमा रहेको ग्रिनलाई १७ रनले पराजित गरेको हो।
यल्लोले दिएको १९७ रनको लक्ष्य पछ्याएको ग्रिनले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन मात्रै बनाउन सकेको हो। नेपाल ग्रिनको कप्तानी भने आशिफ शेखले गरेका थिए।
ग्रिनका दिलिप नाथले सर्वाधिक ३९ रन बनाए। ६६ बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे। अर्जुन कुमालले ४४ बलमा पाँच चौकासहित ३० रनको योगदान दिए।
आकाश त्रिपाठी २७, विवेककुमार यादव २० र सोमपाल कामी २० रनमा आउट हुँदा शेर मल्ल १६ रनमा अविजित रहे। यल्लोका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए। ६.२ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए।
रुपेशकुमार सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रको नाममा समान दुई विकेट रह्यो। एक विकेट कुशल भुर्तेलको नाममा रह्यो।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यल्लोले ४६ ओभरमा सबै विकेट गुमाउँदै १९६ रन बनाएको थियो।
यल्लोका रुपेशले सर्वाधिक ५७ रन बनाए। ६१ बल खेलेका उनले तीन चौका र चार छक्का प्रहार गरे। ओपन कुशलले ६४ बलमा ६ चौकासहित ४४ रनको योगदान दिए।
सुजन थपलिया ३०, सन्तोष कार्की २२ र मयंक यादव १५ रनमा आउट भए। ग्रिनका सन्तोषकुमार यादव र सागर ढकालले सर्वाधिक तीन/तीन विकेट लिए। सोमपाल कामी र राशिद खानको नाममा समान दुई विकेट रह्यो।