काठमाडौं। भीम सार्कीको सानदार शतकसँगै नेपाल रेडले कोर क्यापमा नेपाल ब्ल्युमाथि फराकिलो जित निकालेको छ।
शनिबार सम्पन्न खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको रेडले रोहितकुमार पौडेलको कप्तानीमा रहेको ब्ल्युलाई १९९ रनले पराजित गरेको हो।
नेपाल रेडले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको ब्ल्युले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो।
नेपाल ब्ल्युका कुशल मल्लले सर्वाधिक २६ रन बनाए। ३२ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे।
सन्दीप जोराले २२ बलमा चार चौकासहित २५ रन बनाए। प्रज्जवल थापा २४, गुल्शनकुमार झा १४ र रोहित ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
रेडका शाहब आलम र प्रतीश जिसीले सर्वाधिक तीन/तीन विकेट लिए। सन्दीपले दुई र नन्दन यादवले एक विकेट आफ्नो नाममा राखे।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको रेडले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३४७ रन बनाएको थियो।
रेडका भीमले सर्वाधिक १२६ रन बनाए। १०४ बल खेलेका उनले १३ चौका र दुई छक्का प्रहार गरे।
शुभ कांसाकारले ६३ बलमा नौ चौका र तीन छक्कासहित ७३ रन बनाए। यता, आरिफ शेखले ६० बलमा पाँच चौका र दुई छक्कासहित ५३ रनको योगदान दिए।
त्रितराज दास २१ र अर्जुन साउद १२ रनमा आउट हुँदा बसिर अहमद ३७ र लोकेश बम ६ रनमा अविजित रहे। रेडका करण केसीले सर्वाधिक दुई विकेट लिए। नौ ओभर बलिङ गरेका उनले ६४ रन खर्चिए।
हेमन्त धामी, रोहित र सूर्य तामाङको नाममा समान एक विकेट रह्यो।