काठमाडौं। बार्सिलोना यस सिजनमा सम्भावित चार उपाधि जित्ने लक्ष्यमा छ। रियल मड्रिडसँग जनवरी महिनामा जितेको स्पेनिस सुपर कपपछि बार्सिलोनाको अर्को लक्ष्य कोपा डेल रे पनि आफ्नै पोल्टामा पार्नु हो।
यस सिजनका दुई क्लासिकोमा बार्सिलोनाले ला लिगामा अक्टोबरमा ४–० को जित हासिल गर्यो। त्यसपछि साउदी अरबमा भएको फाइनल ५–२ ले जित्यो। तर, बार्सिलोनाका मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकले भने आफ्नो टोलीलाई अग्रणी मान्न नसकिने बताए।
‘हामीले यो अवसरको आनन्द लिनु पर्छ, हाम्रो टोली साँच्चिकै युवा छ। संसारका एक उत्कृष्ट टोलीसँग खेल्दै छौं। त्यसैले यो ठूलो अनुभव हो। फाइनल भनेको विशेष हुन्छ, यो केवल फेवरिटका बारेमा होइन। हामी जित्नको लागि मैदानमा प्रवेश गर्न र यो टाइटलको लागि लड्न चाहन्छौं,’ उनले भने।
रियल यस सिजनमा संघर्ष गर्दै आएको छ। अर्सनलसँग रियल च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएको थियो। ला लिगामा पनि बार्सिलोनाभन्दा चार अंक तल रहेको छ।
फ्लिकको उत्साही टोली युवा विङर लमिन यमलको नेतृत्वमा छ, जसको उमेर मात्र १७ वर्ष हो। यो टोलीमा धेरै युवा खेलाडीहरू छन्। तीमध्ये पाउ क्यूबार्सी, गावी र पेड्री मुख्य छन्।
‘म यिनीहरूको मानसिकता कति अचम्मको छ भनेर चकित छु। हामी भोलि फाइनल खेल्दैछौं भन्ने कुरा जस्तो लाग्दैन, यिनीहरू यति शान्त छन्.। ला मासियाबाट आएका यी केटाहरूले मलाई धेरै अचम्मित बनाएका छन्,’ बार्सिलोनाका कप्तान रोनाल्ड अराउजोले भने।