काठमाडौं। दुई गोलको अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा टुसालसँग भगवती २-२ को बराबरीमा रोकिएको हो। योसँगै भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। दोस्रो स्थानको भगवतीले आठ खेलबाट १८ अंक जोडेको छ। एक खेल कम खेलेको प्लानिङ ब्वाइज १९ अंकसहित शीर्ष स्थानमा छ।
यता, टुसाल आठ खेलबाट सात अंक जोडेको टुसाल १२औं स्थानमा छ। भगवतीका लागि दुवै गोल उज्वल राईले गरे। टुसालका सुजन माझी र निश्चय थापाले गोल गरे।
३०औं मिनेटमा उज्वलको गोलमार्फत भगवतीले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा उनले नै टोलीको अग्रता दोब्बर बनाए।
तर, ६०औं मिनेटमा सुजनले टुसालका लागि एक गोल फर्काए। निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा नश्चियले गोल गर्दै भगवतीबाट अंक खोसे।