काठमाडौं। इन्टर मियामीलाई कन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलको पहिलो लेगमा भ्यानकुभर ह्वाइटक्याप्सविरुद्ध २-० ले पराजित भएको छ। बिसी प्लेसमा शुक्रबार ५३ हजार ८३७ दर्शकहरूको उपस्थितिमा भएको खेलमा अमेरिकी खेलाडी ब्रायन ह्वाइट र सेबास्टियन बर्हाल्टरले घरेलु टोलीका लागि विजयी गोल गरे।
यो जितसँगै क्यानाडाली टोली भ्यानकुभरले पहिलो पटक महादेशीय फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। लिओनल मेसीको नेतृत्वमा रहेको मियामी टोलीले दोस्रो लेगमा भारी चुनौती सामना गर्नुपर्नेछ।
‘अहिलेसम्मको प्रदर्शन राम्रो लागिरहेको छ। तर, काम अझै बाँकी छ। हामीले साप्ताहभरि योबारे चर्चा गरेका थियौं। हामी यो गर्न सक्छौं भन्ने विश्वास थियो र आज हामीले त्यो देखायौं,’ सेबास्टियनले भने।
खेलको सुरुआतदेखि नै भ्यानकुभरको तीव्र आक्रमणले मियामीलाई दबाबमा राख्यो। २४औं मिनेटमा पेड्रो भिटेले बक्समा चिप गरेको बलमा ब्रायनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो सिजन उनको १५ खेलमा १०औं गोल हो।
भ्यानकुभरका खेलाडीले मेसीलाई लगातार घेरेर खेल्न नदिँदा प्रभाव न्यून रह्यो। पहिलो हाफमा उनले प्रहार गरेको लामो दूरीको प्रहार बार माथिबाट बाहिरियो। दोस्रो हाफमा मियामीले सुधारिएको खेल देखाए पनि आक्रमणको गति ढिलो र अनुमान गर्न सकिने किसिमको थियो। मेसीको फ्रिकिक जापानी गोलकिपर योहेई टाकाओकाले सजिलै रोके।
सेबास्टियन अमेरिकी पूर्वप्रशिक्षक ग्रेग बर्हाल्टरका छोरा हुन्। पुरै खेलभरि उनले उर्जा र चतुराईसाथ खेले। उनले एकपटक राम्रो अवसर गुमाए पनि ८५औं मिनेटमा जयडेन नेल्सनको पासमा गोल गर्दै भ्यानकुभरलाई २-० को विजयी दिलाए।
मियामीले खेलको अन्त्यतिर ‘अवे गोल’को खोजीमा आक्रमण गरे पनि भ्यानकुभरको रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै जित सुरक्षित गर्यो। दोस्रो लेग आगामी बुधबार दक्षिण फ्लोरिडामा हुनेछ।