काठमाडौं। भुटान राष्ट्रिय महिला फुटबल टिमले हङकङ र मलेसियासँगै मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
एएफसी एसियन कप छनोट २०२६ को तयारीमा रहेको भुटानले मलेसियामा हुने अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता ६ मेदेखि १९ सम्म हुने तय छ।
फिफा वरीयतामा भुटान १७१औं स्थानमा छ। गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भुटानले आफूभन्दा ६९औं स्थान माथि रहेको (त्यतिखेर नेपाल १०३ र भुटान १७२औं स्थानमा थियो) नेपाललाई गोलरहित बराबरीमा रोक्दै इतिहास रचेको थियो।
भुटान सेमिफाइनलमा पुगे पनि फिफा वरीयतामा ४०औं स्थानमाथि रहेको बंगलादेशसँग ७–१ ले पराजित हुँदै बाहिरिएको थियो। फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै बंगलादेशले नै लगातार दोस्रोपल्ट उपाधि जितेको थियो।
त्यसयता भुटान पहिलोपल्ट मैदान उत्रिन लागेको हो। हङकङ भने फिफा वरीयतामा ८०औं स्थानमा छ। मलेसिया पछिल्लो वरीयतामा १०२औं स्थानमा छ। भुटान आफू वरीयतामा कमजोर रहे पनि ९१औं स्थानमाथि रहेको हङकङ र ६९औं स्थानमाथि रहेको मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।