काठमाडौं। ओपनर विराट कोहलीको अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको हो। बैंग्लुरुका कोहलीले सर्वाधिक ७० रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे।
देवदत्त पडिक्कलले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए। फिल साल्ट २६ र टिम डेभिड २३ रनमा आउट हुँदा जितेश शर्मा २० रनमा अविजित रहे।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २५ रन खर्चिए। जोफ्रा आर्चर र वानिन्दु हसरंगाको नाममा समान एक विकेट रह्यो।