नेपालगञ्ज। अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधि जित्ने लक्ष्यका साथ एपिएफ क्लब र नेपाल पुलिस क्लब फाइनल खेलमा आमनेसामने हुने भएका छन्।
दुवै टोलीले उपाधि उचाल्ने दाबी गर्दै शुक्रबार हुने निर्णायक खेलका लागि तयारी पूरा भएको बताएका छन्। कर्णाली प्रदेश फुटबल एसोसिएसनलाई ६–० तथा रौतहटलाई ३–० ले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।
उता, पुलिसले भारतीय टिम सिलिगुडीलाई ४–० र त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा हराएर उपाधि भिडन्तमा स्थान बनाएको हो।
नेपालगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एपिएफ क्लबकी मुख्य प्रशिक्षक भगवती थापाले आफ्नो टोलीले उपाधि जित्ने ठूलो अपेक्षा रहेको बताइन्। ‘हामीले दबाबको अवस्था सामना गरिरहे पनि फोकस जितमै छ। प्रतिस्पर्धी कुनै पनि हालतमा कम आँक्नु हुँदैन,’ उनले भनिन्।
एपिएफकी कप्तान अनिता बस्नेतले खेल रोमाञ्चक हुने बताउँदै जितका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको उल्लेख गरिन्। उनले लुम्बिनी कपले महिला फुटबल र समग्र खेल संस्कृतिमा सकारात्मक ऊर्जा थपेको धारणा राखिन्।
त्यसैगरी, नेपाल पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले रणनीतिक रूपमा अगाडि बढ्ने बताए। ‘फुटबलमा नतिजा अनपेक्षित हुन सक्छ। तर, हाम्रो लक्ष्य भनेको उत्कृष्ट प्रदर्शनमार्फत उपाधि जित्नु हो,’ उनले भने।
नेपाल पुलिसकी कप्तान निरु थापाले घरेलु मैदानमा फाइनल खेल्ने सपना पूरा भएको बताइन्। अब उपाधि जितेर अर्को सपना साकार पार्ने विश्वास व्यक्त गरिन्।
प्रतियोगिताको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे नेपालगञ्जमा सुरु हुनेछ। विजेता टोलीले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।