काठमाडौं। सन्दीप लिम्बूको दुई गोलसँगै बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा बाँसबारीले नयाँ बस्तीविरुद्ध २–० को जित निकालेका हुन्।
जितसँगै बाँसबारीले आठ खेलबाट १२ अंक पुर्याएको छ। तर, बाँसबारी तेस्रो स्थानको ब्रिगेड ब्वाइजसँग गोलअन्तरमा पछि परेको छ। नयाँ बस्ती भने समान खेलबाट आठ अंकसहित १०औं स्थानमा छ।
बाँसबारीलाई जित दिलाउन दुवै गोल सन्दीपले गरेका हुन्। उनले ६८औं र इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन्।