काठमाडौं। केएल राहुल र अभिषेक पोरेलको अर्धशतकसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा दिल्ली आठ विकेटले विजयी भएको हो। जितसँगै दोस्रो स्थानको दिल्लीले आठ खेलबाट १२ अंक पुर्याएको छ। समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ।
पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ। लखनऊले दिएको १६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको हो।
दिल्लीका ओपनर अभिषेकले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन बनाए। करुण नैर १५ रनमा आउट हुँदा राहुल ५७ र कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे।
लखनऊका एडन माक्ररमले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले ३० रन खर्चिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनायो।
लखनऊका ओपनर एडनले सर्वाधिक ५२ रन बनाए। ३३ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। अर्का ओपनर मिचेल मार्शले ३६ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाए।
आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे। दिल्लीका मुकेश कुमारले सर्वाधिक चार विकेट लिए।
चार ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो।