काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको यात्रा अहिलेसम्म राम्रो भएको छैन।
टोलीले आठमध्ये ६ खेल हारेको छ। आइतबार चेन्नईले मुम्बई इन्डियन्ससँग नौ विकेटको लज्जास्पद हार बेहोरेको थियो। पाँच पटकको च्याम्पियन चेन्नई टोली हाल अंक तालिकाको पुछारमा छ। हारपछि कप्तान महेन्द्रसिंह धोनीले अर्को वर्षको तयारी गर्न थालेको बताएका छन्।
‘यस वर्ष केही भइरहेको छैन। त्यसैले अर्को वर्षको लागि सही प्लेइङ–११ खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने।
धोनीले यसअघि नै आफ्नो टोलीमा पावर प्लेमा ६० रन बनाउन सक्ने खेलाडी नरहेको स्वीकार गरेका थिए। त्यसैले टोलीले लगातार हार बेहोर्न परेको उनको भनाइ थियो।
‘हामीले हरेक खेल जित्नुपर्छ। त्यसैले हामी हरेक खेललाई खेलको रूपमा लिनेछौं। हामीले राम्रो क्रिकेट खेलेको कारणले हामी यति सफल टोली भएका हौं। तर यस बिन्दुमा हामी भावुक हुनुहुँदैन,’ उनले भने।