काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन लिगको क्वार्टरफाइनलबाटै बाहिरिएपछि प्रशिक्षक कार्लो एन्सेलोटीको भविष्य अनिश्चित छ।
छिट्टै नै आफूले क्लब छाड्ने संकेत उनले गरिसकेका छन्। यही बेला उनको नाम ब्राजिली राष्ट्रिय फुटबल टोलीसँग जोडिएको छ। स्पेनिस मिडियाका अनुसार आगामी जुन महिनामा हुने विश्व कप छनोट खेलमा उनले ब्राजिलको टिमको जिम्मा लिन सक्ने सम्भावना बढेको छ।
रियलले जर्मन क्लब बायर लेभरकुजेनका प्रशिक्षक जाभी आलोन्सोलाई नयाँ प्रशिक्षकका रूपमा तयार पारिरहेको छ। इटालियन प्रशिक्षक एन्सेलोटी यस सिजनको अन्त्यपछि सान्तिआगो बर्नाबेउमा रहन चासो देखाएका छैनन्। उनले अझ त्योभन्दा चाँडै क्लब छाड्न सक्ने चर्चा पनि चलेको छ।
कोपा डे रेको फाइनलमा बार्सिलोनालाई पराजित गर्न नसकेमा उनलाई रियलले बर्खास्त गर्नसक्ने चर्चा पनि भइरहेको छ। यसैबीच, स्पेनको खेल समाचार संस्था रिलेभोले पनि रियलले उनलाई अमेरिकामा जुनदेखि जुलाईसम्म हुने क्लब विश्वकपसम्म नराख्ने योजना बनाइसकेको समाचार प्रकाशित गरेको छ।
यदि उनले यसै मे वा जुनको सुरुमै क्लब छाडे भने ब्राजिली टिममा उपलब्ध हुन सक्ने छन्। ब्राजिलले जुन ६ मा इक्वेडर र जुन ९ मा पाराग्वेविरुद्ध महत्त्वपूर्ण विश्व कप छनोट खेल खेल्नेछ। एन्सेलोटीमाथि रोम र एसी मिलानजस्ता क्लबको पनि चासो छ। तर, उनले ब्राजिलको राष्ट्रिय टिम (सेलेसाओ) सम्हाल्ने निर्णय गरिसकेको देखिन्छ।
रियलले पनि उनको विकल्प पहिल्यै तय गरिसकेको छ। लेभरकुजेनका सिइओ फर्नान्डो कारोका अनुसार आलोन्सोलाई पूर्वक्लबले बोलायो भने छोड्न यसअघि नै जेन्टलमेन एग्रिमेन्ट भएको छ।