नेपालगञ्ज। कर्णाली प्रदेश प्रदेश फुटबल संघमाथि गोलको वर्षा गराउँदै विभागीय टोली एपिएफ अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालगञ्ज रंगशालामा सोमबार सम्पन्न अन्तिम क्वार्टरफाइनलमा एपिएफ ६–० ले विजयी भएको हो। अब एपिएफले फाइनल प्रवेश गर्न बुधबार रौतहट जिल्ला फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ।
१८औं मिनेटमा कर्णालीकी टिना रावतले आत्मघाती गोलसँगै एपिएफले सुरुआती अग्रता लियो। ३५औं मिनेटमा एपिएफकी रेनुका नगरकोटले अग्रता दोब्बर बनाइन्। त्यसको एक मिनेटपछि नै अनिता केसीले गोल गरेपछि एपिएफ ३–० ले अगाडि बढ्यो।
पहिलो हाफको अन्तिम समयमा गीता रानाले चौथो गोल गरिन्। दोस्रो हाफको सुरुमै रश्मीकुमारी घिसिङले अर्को गोल थपिन्। त्यसको चार मिनेटपछि नै कर्णालीले आत्मघाती गोल गरेसँगै एपिएफले ६–० को जित सुनिश्चित गर्यो।
कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका नौ खेलाडीलाई मैदान उतारेको थियो। गोलकिपर अञ्जना रानामगरले भने एपिएफका लागि पहिलो डेब्यू गरिन्। उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन्।
दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन्। खेलको म्यान अफ द म्याच रेनुका घोषित भइन्। उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन्।