काठमाडौं। गोलकिपर अञ्जना रानामगरले विभागीय टोली एपिएफमा डेब्यु गरेकी छन्।
नेपालगञ्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा एपिएफले कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्दैछ। यही खेलमा उनी सुरुआती ११ मा अटाएकी हुन्। उनले यसअघि एपिएफलाई एन्फा महिला लिग जिताएकी सावित्री किशनको स्थान लिएकी हुन्।
करिब एक दशकदेखि आर्मीको जर्सीमा देखिँदै आएकी उनी गत महिना अर्को विभागीय टोली एपिएफ बसाइ सरेकी हुन्। पछिल्लो समय एपिएफ भरपर्दो गोलकिपरविहीन थियो। पहिलो रोजाइकी गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्वा व्यावसायिक लिग खेल ग्रिस पुगेपछि एफिएफ सिनियर गोलकिपरविहीन भएको हो।
त्यसैले एन्फा महिला लिगदेखि उमेर समूहबाट खेलिरहेकी सावित्रीलाई एपिएफले गोल पोस्टको जिम्मेवारी सुम्पिएको थियो। उनले यही लिगमार्फत गत भदौमा एपिएफको जर्सीमा डेब्यु गरेकी हुन्। डेब्यु लिगमा उनी उत्कृष्ट गोलकिपर घोषित भएकी थिइन्।
उनले लिगबाहेक इलाममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप र चितवनमा भएको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पहिलो रोजाइमा पर्दै एपिएफको पोस्ट सम्हालेकी थिइन्। यी दुवैको उपाधि एपिएफले नै चुमेको थियो।
अञ्जनाको प्रवेश भएसँगै सावित्री पुनः बेन्चै सीमित भएकी छन्।