काठमाडौं। श्री कुमारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा छैटौं स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा सोमबार सम्पन्न खेलमा कुमारीले टुसाल क्लबमाथि २–१ को कठिन जित निकालेको हो।
योसँगै कुमारीले जारी प्रतियोगितामा तेस्रो जित निकालेको छ। कुमारी सात खेलबाट नौ अंक जोड्दै छैटौं स्थानमा पुगेको छ। टुसालको भने समान खेलबाट ६ अंक छ।
कुमारीलाई जित दिलाउन निशान्त प्रधान र विनोद धमलाले गोल गरे। टुसालका सुजन माझीले गरेको गोल सान्त्वना रह्यो।
खेलको ११औं मिनेटमै निशान्तको गोलमार्फत कुमारीले सुरुआती अग्रता लिएको थियो। ७६औं मिनेटमा विनोदले उक्त अग्रता दोब्बर बनाए।
निर्धारित खेल सकिन चार मिनेट बाँकी रहँदा टुसालका सुजनले गोल गरेका थिए। तर, त्यसपछि टुसाल खेलमा फर्किन सकेन।