काठमाडौं। युरोपा लिगमा लियोनविरुद्धको जितपछि आत्मबल बढेको म्यानचेस्टर युनाइटेड फेरि प्रिमियर लिगमा हार बेहोर्न बाध्य भयो।
यो सिजनको १५औं हार युनाइटेडको प्रिमियर लिग युगको कीर्तिमानी उच्च हो। सन् १९८९–९० पछि पहिलोपटक युनाइटेडले लिग सिजनमा यति धेरै हार बेहोरेको हो।
घरमै आठ खेल हार्नु सन् १९६२–६३ पछि सबैभन्दा खराब रेकर्ड हो। अहिले युनाइटेडको कुल अंक ३८ मात्र छ र अझै पाँच खेल बाँकी हुँदा पनि उसले सन् २०२१–२२ को ५८ अंकभन्दा कममा रहने निश्चित छ। अधिकतम ५३ अंकमा सिजन सक्ने सम्भावना छ।
‘हामीले गोल गर्नैपर्छ। गोल नगरेसम्म जित्न सकिन्न,’ प्रशिक्षक रुबेन आमोरिमले भने।
वुल्भ्स भने लगातार पाँचौं जितसहित सुरक्षित रहन सफल भएको छ, जुन क्लबको प्रिमियर लिग इतिहासकै सबैभन्दा राम्रो लय हो। सराबियाले मैदानमा आएको तीन मिनेटमै उत्कृष्ट फ्रिकिकमार्फत गोल गरे।
वुल्भ्स युनाइटेडसँग बराबरी अंकमा पुग्दै रिलिगेसन जोनबाट टाढा भएको छ।