काठमाडौं। ट्रेन्ट एलेक्ज्यान्डर–आर्नोल्डले दोस्रो हाफमा निर्णायक गोल गर्दै आइतबार लिभरपुललाई लेस्टर सिटीमाथि १–० को कठिन जित दिलाए। योसँगै लिभरपुल इतिहास बराबरी गर्ने २०औं इङ्लिस प्रिमियर लिग उपाधिनजिक पुगेको छ।
यदि दोस्रो स्थानमा रहेको आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग हार्ने हो भने लिभरपुललाई उपाधि जित्नका लागि अर्को खेल कुर्न पनि पर्दैन। तर, जुनसुकै नतिजा आए पनि लिभरपुलले आइतबार एनफिल्डमा टोटनह्याममाथि जित निकाल्न सके उपाधि निश्चित हुनेछ।
‘अब केवल एक जित टाढा, यो धेरै नजिक छ,’ आर्नोल्डले गोल गरेपछि आफ्नो जर्सी फाल्दै भने। आर्सनलले आइतबार प्रारम्भिक खेलमा इप्सविचलाई ४–० ले पराजित गर्दै लिभरपुलको उपाधि उत्सव केही समय रोकिदिएको थियो।
किंग पावर स्टेडियममा लामो समयसम्म लेस्टरले लिभरपुललाई दबाबमा राखेको थियो। यहाँसम्म कि कोनर कोडीको गोल अफसाइडका कारण अस्वीकार पनि गरिएको थियो।
यो हारले २०१६ को प्रिमियर लिग विजेता लेस्टर सिटीलाई रेलिगेसन भोग्न बाध्य बनायो। लिभरपुलले अब केवल एक जितले म्यानचेस्टर युनाइटेडको २० उपाधिको कीर्तिमान बराबरी गर्न सक्छ। आर्नोल्डले ७६औं मिनेटमा लेस्टरका गोलकिपर म्याड्स हेर्मान्सनलाई बिट गर्दै गोल गर्दा उनको अनुहारमा देखिएको खुसी उपाधिको महत्त्व दर्शाउँथ्यो।
यो सिजनको अधिकांश समय उपाधिको दौडमा अगाडि रहेको लिभरपुल पछिल्लो केही खेलमा भने दबाबमा देखिएको छ। लेस्टरविरुद्धको खेलमा पनि बारम्बार बल पोस्टमा लागेको थियो। आर्नोल्डको गोल अगाडि मोहम्मद सालाह र डिएगो जोटाले पनि ‘वुडवर्क’ हानेका थिए।
लेस्टरका विल्फ्रेड न्दिडीले पहिलो हाफमा पोस्ट हानेका थिए भने कोनर कोडीको गोल अफसाइडको कारण अस्वीकार गरिएको थियो।
आर्नोल्ड सिजनको अन्त्यमा रियल मड्रिड जाने चर्चा भइरहेको छ। उनले निर्णायक क्षणमा गोल गर्दै समर्थकहरूसँग उत्सव मनाए। यो उपाधि लिभरपुलले पछिल्लो पटक २०२० मा जितेको थियो, त्यो पनि कोरोना महामारीका कारण खाली स्टेडियममा।
‘हामीमध्ये धेरैको पहिलो र केहीको दोस्रो उपाधि हुन सक्नेछ। त्यो पनि समर्थकहरूको अगाडि। जुन हामीले सन् २०२० मा पाउन सकेनौं, विशेष हुनेछ,’ आर्नोल्डले भने।