काठमाडौं। च्याम्पियन्स लिगबाट बाहिरिएको पीडाबाट अझै उबरिन नसकेका रियल मड्रिडका समर्थकहरूले आइतबार स्प्यानिस लिगमा एथ्लेटिक बिल्बाओमाथिको १–० को जितका क्रममा निलम्बित किलियन एमबाप्पेलाई जिस्काए। खेलको अन्त्यमा गोल गर्ने फेडेरिको भाल्भेर्देलाई भने उत्साहपूर्वक धन्यवाद दिएका छन्।
दोस्रो स्थानमा रहेको मड्रिडको यो कठिन जितले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि केही दबाब कायम राखेको छ। रातो कार्ड पाएका कारण एमबाप्पे निलम्बनमा परेका थिए। स्यान्टियागो बर्नाबेउ स्टेडियममा उनलाई ठूला स्क्रिनमा देखाइएपछि समर्थकहरूले होटिङ गरे।
चार दिनअघि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँग २–१ ले हार्दा पनि उनी आलोचना खेपिरहेका थिए। मड्रिड ५–१ को समग्र नतिजासहित प्रतियोगिताबाट बाहिरिएको थियो।
‘हामी जित्न चाहन्थ्यौं र बाहिरिएको निराशाबाट उकासिन चाहन्थ्यौं। टिमले राम्रो प्रदर्शन गर्यो र फेडे निर्णायक सावित भए। यस जितले हामीलाई ठूलो आत्मबल दिएको छ,’ प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने।
भाल्भेर्देले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी क्षेत्रको दायाँ किनाराबाट उत्कृष्ट गोल गर्दै मड्रिडलाई जित दिलाए। समर्थकका प्रशंसकहरू अधिकांश समय टिमको पक्षमा थिए। तर, एमबाप्पे स्क्रिनमा देखिएपछि केहीले उनलाई फेरि जिस्क्याए।
भिनिसियस जुनियरले बुधबार खराब प्रदर्शन गरेका थिए, आइतबार भने प्रभावशाली रहे। उनको एक गोल खेलको ८०औं मिनेटतिर अफसाइडका कारण अस्वीकार गरिएको थियो। भिनिसियसले मड्रिडका लागि २००औं जित पूरा गरे।
जुड बेलिङ्घमले आक्रमणमा ‘फल्स नाइन’को भूमिका निभाउँदै राम्रो प्रदर्शन गरे। मड्रिड अब शनिबार सेभियामा हुने कोपा डेल रेको फाइनलमा बार्सिलोनासँग भिड्दैछ।
‘उनले त्यो पोजिसनमा राम्रो खेले। हामी यस फर्मेसनमा अघिल्तिर पनि सफल भएका छौं,’ एन्सेलोट्टीले भने। डिफेन्डर एन्टोनियो रूडिगरले मड्रिडका लागि आफ्नो १५०औं खेल खेले।
यो जितपछि मड्रिड बार्सिलोनासँगको अन्तर चार अंकमा झार्न सफल भयो। बार्सिलोनाले शनिबार सेल्टा भिगोलाई ४–३ ले पराजित गरेको थियो। तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले शनिबार लास पाल्माससँग १–० ले हार्दा शीर्ष स्थानभन्दा १० अंकले पछि परेको छ। चौथो स्थानको एथ्लेटिक एट्लेटिकोभन्दा ६ अंकले पछि छ।
‘गोल अन्तिम क्षणसम्म आउन चाहेको थिएन। तर, फेरि भाल्भेर्देले आफ्नो विशेष क्षमताले चमत्कार गरे,’ मड्रिडका गोलकिपर थिबाउ कोर्ट्वाले भने,‘यो जित धेरै महत्त्वपूर्ण थियो। बार्साले जितेको थियो, अब जित्ने पालो हाम्रो थियो।’