काठमाडौं। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई ९ विकेटले विजयी भएको हो।
जितसँगै मुम्बईले आठ खेलबाट आठ अंक पुर्याएको छ। समान खेलबाट चार अंक रहेको चेन्नई पुछारमा छ। चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो।
मुम्बईका ओपन रायन रिकलटन २४ रनमा आउट भए। तर, रोहित शर्मा र सूर्यकुमार यादवको सानदार प्रदर्शनसँगै मुम्बईले जितको स्वाद चाख्न पाएको हो।
४५ बल खेलेका रोहितले चार चौका र ६ छक्कासहित ७६ रन बनाए। सूर्यले भने ३० बलमा ६ चौका र पाँच छक्कासहित ६८ रन बनाए। यी दुई ब्याटर अविजित रहे।
त्यसअघि पहिला ब्याटिङ थालेको चेन्नईले ५ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। चेन्नईका रवीन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। ३५ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
शिवम दुबेले ३२ बलमा दुई चौका र चार छक्कासहित ५० रनको योगदान दिए। आयुष म्हात्रे ३२ र शेख रशिद १९ रनमा आउट भए। मुम्बईका जसप्रीत बुमराहले सर्वाधिक दुई विकेट लिए।