काठमाडौं। १३ मिनेटमा तीन गोल गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा पोखराले एफसी चितवनलाई ३–० ले पराजित गरेको हो। योसँगै फाइनल प्रवेश गर्न पोखराले साबिक उपविजेता धनगढी एफसीसँग खेल्ने छ।
धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो। चितवनको जितमा जोय आइडुले दुई गोल गरे। एक गोल भने उपहार पाएको थियो।
चितवनसँग पोखराले २–० को हार बेहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, उक्त हारको बदला निर्णायक खेलमा लिन सफल भएको हो।
६३औं मिनेटमा चितवनका अभिषेक लिम्बूले आत्मघाती गोल गर्न पुगे। पोखराका स्टेफन विनोङ समीरको पावलफुल सटलाई गोलकिपर अमल नाइटले पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन्। उक्त बललाई पोखराका मार्की प्लेयर समीर तामाङले क्रस गरेका थिए। कप्तान आयुष घलानले बल कनेक्ट गर्नै लाग्दा अभिषेकलाई लाग्दै गोलमा परिणत भयो।
त्यसको ९ मिनेटपछि नै आइडुले अग्रता दोब्बर बनाए। छिरिङ गुरुङले प्रहार गरेको बल क्रस बारमा लागेर फिर्ता भएको थियो। उक्त बललाई आइडुले गोलमा परिणत गरेका हुन्।
त्यसको चार मिनेटपछि नै उनले अर्को गोल थपे। चन्दन दासको पासमा आइडुले बक्स भित्रबाट वान टचमा गोल गरेका हुन्। जारी लिगमा उनको यो तेस्रो गोल हो।