काठमाडौं। श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडलाई दबाब थपेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मैदानमा आइतबार सम्पन्न खेलमा भगवतीले नयाँ बस्ती युथ क्लबमाथि ३–० को एकपक्षीय जित निकालेको हो।
यो नतिजासँगै भगवतीले सात खेलबाट १७ अंक पुर्याएको छ। एक खेल कम खेलेको प्लानिङ भने १८ अंकसहित शीर्ष स्थानमा छ। नयाँ बस्ती भने ६ खेलबाट पाँच अंक जोड्दै रेलिगेसन जोनमा छ।
भगवतीको जितमा दिवश छन्त्याल, अमित लामा र बिक्रान्तनरसिंह रानाले गोल गरे।
खेलको तेस्रो मिनेटमै दिवसले भगवतीलाई सुरुआती अग्रता दिलाए। १६औं मिनेटमा अमितले उक्त अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा बिक्रान्तले गोल गर्दै जित सुनिश्चित गरे।