नेपालगञ्ज। विभागीय टोली नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
बाँकेको नेपालगञ्ज रंगशालामा शनिबार सम्पन्न खेलमा पुलिसले भारतको सिलिगुरी एफसीलाई ४–० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
यो जितसँगै पुलिसले फाइनल प्रवेश गर्न अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो।
पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मीना देउवा र कप्तान निरु थापाले एक गोल गरेकी हुन्। पुलिसले पहिलो हाफमै चार गोल गर्न सफल भएको थियो। मीनाले १३औं मिनेटमै पहिलो गोल गरिन्। पाँच मिनेटपछि नै निर्मलाले पुलिसको अग्रता दोब्बर बनाइन्।
१८ मिनेटमै दोस्रो गोल बेहोरेपछि भारतीय क्लब दबाबमा आएको थियो। २२औं मिनेटमा रक्षकले बक्सभित्र हातले बल छोएपछि रेफ्री कृष्ण खत्रीले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए। निर्मलाले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेकी हुन्।
दोस्रो हाफमा भने भारतीय टिम सिलिगुरीले सुधारिएको खेल खेलेको थियो। यद्यपि, भारतीय टोलीले गोल गर्र्न भने सकेनन्। खेलको प्लेयर अफ द म्याच पुलिसकी स्ट्राइकर निर्मला घोषित भइन्।