काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानको बीचको निर्णायक खेल रद्द भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु हुने जनाएको थियो। तर, २ बजिसक्दा पनि सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो। योसँगै अफगानिस्तानले जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा स्थान बनाएको छ।
शुक्रबार रातिदेखि नै काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको थियो। मैदानको आउटफिल्ड भिजेको कारण टस र खेल हुन ढिला भएको थियो।
तर, पछिल्लो चार घण्टादेखि मूलपानीमा वर्षा भएको थिए। मैदानको कभर पनि हटाइएको थियो। बाउन्ड्री लाइन मिलाउने काम भइरहेको थियो। तर, भिजेको आउटफिल्ड सुकाउन भने क्यानका ग्राउन्ड स्टाफलाई निकै गाह्रो पर्यो।
सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरेका थिए। त्यही पनि आउटफिल्डका केही भागमा पानी रहेको कारण खेल अनिश्चित बनेको थियो। अम्पायरले १:३० बजे मैदान निरीक्षण गरेर फर्किएका थिए। २ बजे पुन: निरीक्षण गरेपछि खेल नहुने पक्का गरेका हुन्।
नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो। यो खेल रद्द भएका दुवै टोली अंक बाँडेका छन्। नेटरनरेटमा अगाडि भएको कारण सात अंकसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अंक रहे पनि नेपाल यसपल्ट अभागी सावित भयो।