काठमाडौं। क्यानडा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जेसी मार्शलाई कोनकाकाफको अनुशासन समितिले थप एक खेलमा प्रतिबन्ध लागएको छ। योसँगै उनको प्रतिबन्ध अब दुई खेलमा पुग्ने भएको छ।
गत महिना अमेरिकाविरुद्धको नेसन्स लिगमा तेस्रो स्थानको खेलमा देखाएको व्यवहारका कारण मार्शले रातो कार्ड पाएपछि स्वचालित रूपमा एक खेलको प्रतिबन्ध लागिसकेको थियो।
तर, बिहीबार कोनकाकाफले रेफ्रीप्रति अस्वीकार्य व्यवहार र मैदान छोड्न अस्वीकार गरेर खेल पुनः सुरु गर्न ढिलाइ गरेको भन्दै उनलाई थप प्रतिबन्ध लगाइएको हो। साथै, यस्ता घटनाहरू पुनः भएमा अझ कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।
मार्श अब आउँदो जुन महिनामा हुने गोल्डकपका समूह चरणका हन्डुरस र क्युरासाओविरुद्धको खेल गुमाउने छन्। मार्शलाई मार्च २३ मा अमेरिकाविरुद्ध २-१ को जितको क्रममा ५४औं मिनेटमा टच लाइनबाट निकालिएको थियो।
उनले मेक्सिकन रेफ्री काटिया गार्सियाको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। जोनाथन डेभिड मैदानमा लडेपछि पनि रेफ्रीले कुनै फाउलको संकेत नगरेकोमा उनले आपत्ति थियो।
टिभी रिप्लेमा डेभिड अमेरिकी खेलाडी म्याक्स आर्फ्स्टनबाट जोगिने प्रयासमा आफैं चिप्लिएझैं देखिन्थे। त्यसअघि पनि डेभिड टायलर एडम्सको दबाबमा पेनाल्टी क्षेत्रमै लडेका थिए। तर, त्यसबेला पनि रेफ्रीले फाउलको संकेत गरेको थिएन।