काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन अमोरिमले दुखद सिजनलाई अविस्मरणीय बनाउन सकिने बताएका छन्। ओल्ड ट्राफोर्डमा युरोपा लिगमा लियोनविरुद्ध ५–४ को सानदार जितपछि उनले उक्त कुरा बताएका हुन्। युनाइटेड सग्रमा ७–६ को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको छ।
६ मिनेट बाँकी रहँदा १० खेलाडीमा सीमित लियोनविरुद्ध ४–२ ले पछि परेको युनाइटेडका लागि सिजन सकिएको जस्तै देखिएको थियो। तर, ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलबाट युनाइटेडले पुनरागमनको सुरुआत गर्यो। त्यसपछि कोबी माइनू र ह्यारी म्याग्वायरले गोल गर्दै ओल्ड ट्राफोर्डलाई खुसीको माहोलमा डुबाए।
‘यो रंगशालामा कुनै पनि कुरा सम्भव छ। आज त्यही भयो,’अमोरिमले भने। खेलअघि उनले युनाइटेडको सन् १९९९ को ट्रेबल जितसम्बन्धी डकुमेन्ट्री हेरेका थिए। उक्त डकुमेन्ट्रीमा युनाइटेडले च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखविरुद्ध अन्तिम क्षणमा दुई गोल गर्दै २–१ को जित हात पारेको थियो।
‘हामी अहिले खराब प्रदर्शन गरिरहेका छौं र आलोचना गर्नु सही हो। तर, हामीसँग यो सिजन विशेष बनाउने समय अझै बाँकी छ,’ उनले भने। युनाइटेड हाल प्रिमियर लिगमा १४औं स्थानमा छ। युरोपा लिग नजिते अर्को सिजन युरोपियन फुटबलमा नखेल्ने सम्भावना बलियो छ। त्यसले क्लबको आर्थिक स्थितिमा ठूलो असर पार्न सक्छ।
तर, यदि क्लबले मे २१ मा बिल्बाओमा हुने फाइनल जित्न सफल भयो भने सिधै च्याम्पियन्स लिगको यात्रा सुनिश्चित गर्नेछ।
‘एउटा क्षणले खेलाडीहरूको सोच बदल्न सक्छ। त्यसैले हामीले युरोपा लिगमा ध्यान दिनुपर्छ र प्रिमियर लिगमा कहिलेकाहीँ युवापुस्तालाई मौका दिनुपर्ने हुन्छ। समर्थकहरूले यो कुरा बुझ्नुपर्छ,’ उनले भने।