काठमाडौं। धनगढी एफसीमाथि पुनरागमन जित निकाल्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार लिग चरणको अन्तिम खेलमा ३–१ को जित निकाल्दै चितवनले प्लेअफको यात्रा तय गरेको हो।
जितसँगै ६ खेलमा १० अंक जोडेको चितवन तेस्रो स्थानमा रह्यो। पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अंकका साथ दोस्रो स्थानमा रहे। योसँगै आठ अंक जोडेको कामाडौं रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अंक रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाडौं बाहिरिएको हो। अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा इलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन्।
चितवनलाई जित दिलाउन नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गरे। एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे।