काठमाडौं । रोबर्टो कार्लोस नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न नआउने भएका छन् ।
एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै कार्लोस पूर्व निर्धारित समयमा नेपाल नआउने बताएको छ ।
आकस्मिक बिरामीका कारण कार्लोस पूर्व निर्धारित समयमा नेपाल आउन नसक्ने एनएसएलले बताएको हो ।
उनी शुक्रबार एनएसएलको पहिलो क्वालिफायर म्याचमा प्रमुख अतिथीको रुपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो ।
सोही अनुसार एनएसएलले आक्रमक प्रचार प्रसार गर्दै टिकट बिक्रीदेखि विभिन्न कमर्सियल इभेन्टको टिकट बिक्री खुल्ला गरेको थियो ।
तर उनी शुक्रबार पूर्व निर्धारित कार्यक्रममा नआउने एनएसएलले प्रस्ट पारेको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भैरहेको एनएसएलले जनाएको छ ।
प्रतियोगिताको फाइनल अघि कार्लोस कुनैपनि हालतमा नेपाल आउने दाबी गर्न एनएसएलले छाडेको छैन ।
ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने ईच्छा सहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले दुई विकल्प दिएको हो । टिकट रद्ध गरेर पैसा फिर्ता लिने र अर्को तालिकामा कार्लोसलाई हेर्ने विल्कप आयोजकले दिएको छ ।
यसअघिको सिजनमा समेत फुटबल लिजेण्ड डिडयर ड्रोग्बा एनएसएल हेर्न नेपाल आउने प्रचार गरिएको थियो । तर अन्तिममा ड्रोग्बाले न त एनएसएल हेरे, न त नेपालनै आएका थिए ।
सर्वसाधारणको ध्यान खिच्न ईभेन्ट आयोजकले झुटो प्रचार फैलाउने गरेको आरोप नेपालका ईभेन्ट आयोजकमाथि लाग्ने गरेको छ ।