काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आर्सनलसँगको हारपछि आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गरेका छन्।
विश्वकै सबैभन्दा सफल प्रशिक्षकमध्येका एक एन्सेलोटीले हालसम्म पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन्। तर, बुधबार सान्टियागो बर्नाबेउमा २-१ को हार र समग्रमा ५-१ को पराजयपछि उनलाई सोधिएको थियो— के यो खेल रियलका लागि उनको अन्तिम च्याम्पियन्स लिग हुन सक्छ?
उनको जवाफ थियो,‘म जान्दिन। सायद क्लबले परिवर्तनको निर्णय लिन्छ। यो वर्ष पनि हुन सक्छ वा अर्को वर्ष, जब मेरो सम्झौता सकिन्छ। म यहाँबाट जाने दिन एक मात्र कुरा गर्छु क्लबलाई धन्यवाद। त्यो भोलि पनि हुन सक्छ, १० दिनमा पनि वा एक वर्षपछि पनि।’
सन् २०२० पछि रियल च्याम्पियन्स लिगको अन्तिम चारमा पुग्न पहिलोपल्ट असफल भएको हो। एन्सेलोटीले २०१४, २०२२ र २०२४ मा रियल मड्रिडलाई युरोपियन उपाधि जिताएका थिए।
तर, उनले जुन महिनामा हुने क्लब वर्ल्ड कपमा पनि आफू जिम्मेवारीमा रहने हो या होइन भन्ने थाहा नभएको बताए। ‘मैले त्यो बारेमा सोचिसकेको छैन,’ उनले भने।