काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा बिहीबार धनगढी एफसी र एफसी चितवन भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे हुने खेलमा चितवनलाई प्लेअफमा पुग्न जित्ने पर्ने दबाब छ।
साबिक उपविजेता धनगढी यसअघि नै ११ अंक जोड्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ। अपराजित रहेको यो टोलीको लक्ष्य अब शीर्ष स्थानको ललितपुर सिटीलाई उछिन्ने मात्रै हुनेछ। ६ खेल खेलेको ललितपुर भने अंक तालिकामा दोस्रो स्थानमा छ।
ललितपुर र धनगढी पहिलो क्वालिफायरमा पुग्दा पोखरा थन्डर्सले पनि आठ अंक जोड्दै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। तर, समान आठ अंक भनेको काठमाडौं र एक अंक कम भएको चितवनमध्ये एक टोली भने प्लेअफमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौंले समान ६ खेल खेलिसक्दा माइनस एक गोल पुर्याएको छ। चितवन भने गोल संख्यामा घाटा र नाफा दुवैमा छैन। त्यसैले चितवनलाई धनगढीविरुद्धको खेलमा बराबरी नै पर्याप्त हुनेछ।
विगतको नतिजालाई हेर्ने हो भने चितवनले धनगढीलाई बराबरीमा समेत रोक्न सकेको छैन। दुईपल्ट भिड्दा धनगढीले नै चितवनमाथि शतप्रतिशत जित निकालेको छ। यी जितमा धनगढीले चार गोल गरेको छ। तर, चितवनले एक गोल पनि फर्काउन सकेको छैन।