काठमाडौं। बायर्न म्युनिखका पूर्वडिफेन्डर बेन्जामिन पावार्डले आफ्नै पूर्वटोलीविरुद्ध गोल गर्दै इन्टर मिलानलाई बुधबार २–२ को बराबरी गराउन महत्त्वपूर्ण भूमिका खेले।
योसँगै समग्रमा ४–३ को जित निकाल्दै इन्टर च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
यो पावार्डको इन्टरका लागि पहिलो गोल हो। सन् २०२३ मा बायर्नबाट इन्टरमा आएपछि उनले गोल गरेका हुन्। ‘यो मेरो पहिलो गोल हो, त्यो पनि सान सिरोमा। त्यसैले निकै भावुक क्षण थियो। तर, म खेलमा केन्द्रित रहनुपर्थ्यो, भावनामा अल्झन मिल्दैनथ्यो,’ उनले भने।
दोस्रो हाफको सुरुआतमै ह्यारी केनले गोल गर्दै समग्र बराबरीमा ल्याएका थिए। तर, इन्टरले तुरुन्तै लउटारो मार्टिनेज र पावार्डका गोलमार्फत खेलमा पुन: अग्रता लियो।
७६औं मिनेटमा एरिक डायरले हेडरमार्फत बराबरी गोल गरेपछि अन्तिम क्षण निकै तनावपूर्ण बने। अब इन्टरले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ। सन् २०१० मा जोसे मोउरिन्होको नेतृत्वमा इन्टरले बार्सिलोनालाई सेमिफाइनलमा हराउँदै च्याम्पियन्स लिग जितेको थियो।
सिमोने इन्जागीको नेतृत्वमा रहेको टोली अहिले पनि त्यो ऐतिहासिक उपलब्धि दोहोर्याउने अभियानमा रहेको छ। ‘हामीले आफ्ना लागि कुनै सीमा तय गरेका छैनौं। हाम्रो टोली उत्कृष्ट छ र खेलाडीहरू राम्रा छन्,’ पावार्डले भने।
अर्को सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ। आर्सनलले रियल मड्रिडलाई २–१ ले पराजित गर्दै समग्र ५–१ मा जित निकालेर सेमिफाइनलमा स्थान बनाएको हो।
इन्टरले पहिलो लेगमा २–१ ले हराउँदै चार वर्षयताकै बायर्नको घरेलु मैदानमा पहिलो हार दिलाएको थियो। बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पनीले दुई खेल मिलाएर केही पछुतो रहेको बताए। यसपल्ट टोलीले धेरै अवसरहरू गुमाएको थियो।
‘हामी च्याम्पियन्स लिगको फाइनल आफ्नै मैदानमा खेल्न सक्ने अवसर गुमायौं, जुन निकै कष्टकर यथार्थ हो,’ कम्पनीले भने, ‘तर, प्रदर्शन पक्षबाट हेर्दा हामीले यी दुई खेल जित्न सक्ने जति प्रदर्शन गर्यौं।’
खेलको सुरुआतमै बायर्नले केही अवसर पाएको थियो। माइकल ओलिसको प्रहार पावार्डले ब्लक गरे भने अर्को प्रयास अलेसान्द्रो बास्तोनीले उत्कृष्ट ‘ट्याकल’मार्फत रोकिदिए।
इन्टरले केही समयपछि लय समात्यो। ३३औं मिनेटमा हाकान चाल्हानओग्लुले टाढाबाट गरेको प्रहार निकै नजिकबाट बाहिरियो। त्यसपछि थोमस मुलर र लेरोय सानेले पनि अवसर पाए। तर, माटेओ डार्मियन र यान सोमरले उत्कृष्ट रक्षाबाट रोकिदिए।
५२औं मिनेटमा इन्टरले क्रस क्लियर गर्न नसक्दा लियोन गोरेट्ज्काले केनलाई बल पास गरे, जसले डिमार्कोलाई पार गर्दै कुनामा गोल गरे। तर, सात मिनेटमै इन्टरले बराबरी गर्यो। लउटारोले कर्नरबाट आएको बलमा गोल गरे।
त्यसको तीन मिनेटमै पावार्डले अर्को कर्नरमा हेडर गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए। ७६औं मिनेटमा सर्ज ग्नाब्रीको क्रसमा एरिक डायरले कुनाबाट हेडर हाने। बल अप्रत्याशित रूपमा माथिल्लो कुनामा पुगेर गोल भयो, जसले अन्तिम क्षण रोमाञ्चक बनायो।
तर, इन्टरले बाँकी समय नियन्त्रणमा राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।