काठमाडौं। रियल मड्रिडलाई २–१ ले पराजित गर्दै आर्सनल सन् २००९ यता पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा दुईवटा पेनाल्टी निर्णयमा भिएआर (भिडियो रेफ्री) ले मुख्य भूमिका खेलेको थियो।
आर्सनलले पहिलो लेगमा लन्डनमा ३–० को जित निकालेको थियो, जससँगै समग्र ५–१ को जित निकाल्दै क्लब इतिहासमा पहिलोपटक च्याम्पियन्स लिग जित्ने सपना जीवित राखेको छ। अब आर्सनलले सेमिफाइनलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग प्रतिस्पर्धा गर्नेछ।
योपटक रियलले कुनै चमत्कारी पुनरागमन गर्न सकेन। न त अन्तिम समयमा गोल भयो, न रोमाञ्चक क्षण, न त स्यान्टियागो बेर्नाबेउ स्टेडियममा कुनै जादू देखियो।
१५ पटकको युरोपियन च्याम्पियन रियल सन् २०२० यता पहिलोपटक सेमिफाइनलमा पुग्न असफल भएको हो। योसँगै चार वर्षभित्र तेस्रो उपाधि जित्ने लक्ष्य पनि अन्त्य भएको छ।
‘धेरैले रियलले फेरि पुनरागमन गर्छ भनेका थिए। हुन् त रियलले पहिले पनि त्यस्तै गरेको थियो। तर, हामीसँग पहिलो खेलबाटै आत्मविश्वास थियो। त्यो आज मैदानमा देखायौं,’ आर्सनलका डेक्लान राइसले भने।
बेर्नाबेउमा उत्साही भीडसामु रियलले खेलको दोस्रो मिनेटमै गोल गरेको थियो। तर, किलियन एमबाप्पे अफसाइड थिए। त्यसपछि उनलाई रोकेको भन्दै रियललाई दिइएको पेनाल्टी निर्णय पाँच मिनेट लामो भिएआर समीक्षा पछि उल्टाइयो।
योसँगै रियलको पुनरागमन आशामा ठूलो धक्का पुर्यायो। यता, आर्सनलले पनि भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो। तर, बुकायो साकाको ‘चिप’ प्रयास रियलका गोलकिपर थिबाउ कोर्टोइसले रोके।
२३औं मिनेटमा फेरि रियलले पेनाल्टी पाएको थियो। तर, एमबाप्पे र राइसबीचको झगडामा रियलले पाएको पेनाल्टी निर्णय भिएआरले उल्टायो। साकाले नै खेलको ६५औं मिनेटमा मिकेल मेरिनोको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसको केही समयमै विलियम सालिबाको गल्तीको फाइदा उठाउँदै भिनिसियस जुनियरले बराबरी गोल गरे।
इन्जुरी समयमा मेरिनोको अर्को असिस्टमा गाब्रिएल मार्टिनेलीले आर्सनलको जित पक्का पार्ने गोल गरे। ‘यो मेरो फुटबल करियरको सबैभन्दा सम्झनालायक रातहरूमध्ये एक हो। जुन टोली हामी सबैका लागि प्रेरणा थियो त्यस्तो टोलीलाई जित्नु गौरवको कुरा हो,’ आर्सनल प्रशिक्षक मिकेल आर्टेटाले भने।
रियल प्रशिक्षक कार्लो एन्सेलोट्टीले अघिल्ला वर्षहरूमा निकै राम्रो प्रदर्शन गरेको बताए। यो वर्ष सहनुपर्ने खालको रहेको स्वीकार गरे।
‘खेलमा यस्ता कुरा हुन्छन्। कुनै पनि टोली अजेय हुँदैन। सायद क्लबले परिवर्तन गर्ने निर्णय लिन्छ। यो वर्ष वा अर्को वर्ष जब मेरो सम्झौता सकिन्छ। जब म यहाँबाट जान्छु, म क्लबलाई धन्यवाद मात्र दिन सक्छु। त्यो भोलि पनि हुन सक्छ, १० दिनमा पनि वा एक वर्षमा,’ उनले भने।