काठमाडौं। नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्राे जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले पाहुना टोली हङकङमाथि ९ विकेटको जित निकालेको हो। जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पराजित हङकङ भने अझै जितविहीन छ।
हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो। नेपालका साहिल पटेलले सर्वाधिक ४२ रन बनाए।
अविजित रहेका उनले ४१ बलमा आठ चौका प्रहार गरे। अर्का ओपनर नीरजकुमार यादवले २३ रनको योगदान दिँदा कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे। उनले २३ बलमा आठ चौका प्रहार गरे।
हङकङका स्यान पुरीले एक विकेट लिए।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो।
हङकङका शिव मथुरले सर्वाधिक ६३ रन बनाए। ११६ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन बनाए।
नेपालका युवराज खत्रीले सर्वाधिक चार विकेट लिए। विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए।