काठमाडौं। आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ र नेपाल भिड्दैछन्।
तल्लो मूलपानीमा यो खेल बिहान ९:३० बजे सुरु हुनेछ। जारी प्रतियोगितामा अफगानिस्तान र नेपाल मात्रै अपराजित छन्। तर, अफगानिस्तान नेटरनरेटले नेपालभन्दा राम्रो स्थितिमा छ। नेपालले पहिलो खेलमा युएईलाई डिएलएसबाट पाँच रनले पराजित गरेको थियो।
दोस्रो खेलमा भने ओमानलाई आठ विकेटले हराउँदै चार अंक पुर्याउन सफल भयो। अब नेपालको लक्ष्य लगातार तेस्रो जित निकाल्नेमा हुनेछ। यता, एक खेल खेलेको हङकङ भने जितविहीन छ।
पहिलो खेलमै अफगानिस्तानसँ हङकङले आठ विकेटको हार बेहोरेको थियो। ३६.२ ओभर खेले पनि हङकङले ७० रन कटाउन सकेको थिएन। ७१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले दुई विकेट गुमाउँदै १४.२ ओभरमा खेल आफ्नो पक्षमा पारेको थियो।
हङकङ उक्त लज्जास्पद हार बिर्सिएर प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ।