काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा अपराजित रहने दुई टिम हुन्, धनगढी एफसी र ललितपुर सिटी एफसी।
गत वर्षका दुई फाइनलिस्टले जारी लिगमा पाँच खेल खेल्दा हारको सामना गर्न परेको छैन। योसँगै यी दुई टोलीले पहिलो क्वालिफायरमा आफ्नो स्थानसमेत सुरक्षित गरिसकेका छन्। अब यी दुईका लागि आगामी खेल भनेको वार्म अप मात्रै हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६ बजे अंक तालिकाको दोस्रो स्थानमा रहेको ललितपुरले झापा एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ११ अंक रहेको ललितपुरलाई गुमाउनु केही नभए पनि शीर्ष स्थानमा रहेर लिग सक्काउने मौका छ। समान पाँच खेलबाट ११ अंक भएको धनगढी ललितपुरसँग गोलअन्तरले अगाडि छ।
यता, चार खेलसम्म अपराजित रहँदै एनएसएलमा इतिहास कोरेको झापाले पाँचौं खेलमा पुगेर मात्रै हार बेहोरेको हो। धनगढीसँग बेहोरेको १–० को उक्त हारसँगै प्लेअफको सम्भावना कमजोर बनेको झापालाई मंगलबार पोखरा थन्डर्सले प्रतियोगिताबाट बाहिर गराएको हो। पोखराले जित्नै पर्ने खेलमा प्रतियोगिताकै कमजोर टोली बुटवल लुम्बिनी एफसीलाई २–० ले पाखा लगायो। योसँगै पोखराले प्लेअफमा स्थान बनाउँदा झापा एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएको हो।
बुटवलजस्तै झापा जितविहीन टोली हो। तर, अन्तिम खेलमा झापालाई जित निकाल्दै प्रतियोगितामा जितको खडेरी तोड्ने मौका मिलेको छ।