काठमाडौं। युरोपियन च्याम्पियन्स लिगमा फेरि एकपटक रेमोन्तादा (अविश्वसनीय पुनरागमन) को त्रासले पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई घेरेको थियो। तर, यसपटक फ्रेन्च च्याम्पियन जोगिन सफल भयो।
एस्टन भिल्लासँग ३–२ को हार बेहोरे पनि पिएसजी समग्रमा ५–४ को अग्रतासहित सेमिफाइनलमा प्रवेश गरेको छ। ‘हामीले दुई खेलमा राम्रो खेलेर जित्यौं। अब हामी अर्को चरणमा पुग्न चाहन्छौं,’ पिएसजीका प्रशिक्षक लुइस एनरिकले भने।
पिएसजीले दोस्रो लेगको सुरुआतमा नै दुई गोल गर्दै समग्र अग्रतालाई चार गोलमा पुर्याएको थियो। अफ्राच हाकिमी र नुनो मेन्डेसले २७ मिनेटभित्र दुई गोल गर्दै भिल्ला पार्कमा घरेलु दर्शकलाई निराश बनाएका थिए।
प्रिन्स विलियमको समर्थनमा हौसिएको एस्टन भिल्लाले त्यसपछि जबरजस्त पुनरागमन गरेको थियो। यौरी टिलेमान्सको डिफ्लेक्टेड गोलले हाफटाइमअघि एक गोल फर्काए। दोस्रो हाफमा जोन म्याकगिन र एज्री कोन्साले दुई मिनेटको अन्तरमा दुई गोल थपे।
५७औं मिनेटसम्म स्कोर ३–२ भएपछि, भिल्ला केवल एक गोल टाढा थियो। तर, पनि अतिरिक्त समयसम्म खेल लैजान पर्याप्त भएन। भिल्लाले चौथो गोल खोजिरहँदा गोलकिपर जियानलुइगी डोनारुम्माको अद्भुत बचावटले पिएसजीलाई जोगायो।
मार्कस र्यासफोर्ड, टिलेमान्स, र मार्को एसेन्सियो (जो पिएसजीबाट ऋणमा छन्) को प्रयास डोनारुम्माले असाधारण ढंगले रोकिदिए। अन्तिम क्षणमा इयान मास्टेनको भली पनि विलियन पाचोले लाइनमै रोकिदिए।
सन् २०१७ मा पिएसजीले बार्सिलोनासँग ६–१ ले हार्दै चार गोलको अग्रता गुमाएको थियो। त्यति बेला भिल्लाका हालका प्रशिक्षक युनाइ एमरी पिएसजीका प्रशिक्षक थिए। यसपटक उनले त्यो इतिहास दोहोर्याउने प्रयास गरे, तर सफल भएनन्।
नेयमार, लिओनल मेसी र किलियन एमबाप्पेबिना पनि यो पिएसजी सेमिफाइनलमा पुगेको छ। अब क्लबको लक्ष्य पहिलो च्याम्पियन्स लिग जित्ने छ। सन् १९८२–८३ पछि पहिलोपटक च्याम्पियन्स लिग खेलेको भिल्लाको यात्रा यहीँ टुंगिएको छ। तर, भिल्लाले फर्कने संकल्प गरेको छ।
‘हामीले आज देखायौं कि हामी उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्छौं,’ कोन्साले भने, ‘अब हाम्रो ध्यान फेरि च्याम्पियन्स लिगको लागि योग्य बन्नुमा हुनेछ।’
भिल्ला अहिले प्रिमियर लिगमा सातौं स्थानमा छ, च्याम्पियन्स लिग स्थानभन्दा केवल एक अंक पछाडि। आगामी सिजन पुन: युरोपियनस्तरमा फर्कने भिल्लाको सम्भावना बलियो छ।