काठमाडौं। बोरुसिया डर्टमुन्ड २०२५ मा पहिलोपटक बार्सिलोनालाई हराउने टोली बन्न सफल भयो। तर, डोर्टमुन्ड समग्रमा ५–३ को हार भोग्दै च्याम्पियन्स लिगको सेमिफाइनल होडबाट बाहिरिएको छ।
सर्हाउ गुइरासीले ह्याट्रिक गरे पनि डर्टमुन्डलाई ३–१ को जित पर्याप्त हुन सकेन। किनभने पहिलो लेगमा बार्सिलोनाले ४–० को एकतर्फी जित हात पारेको थियो।
दोस्रो लेगमा डर्टमुन्डले सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै बार्सिलोनालाई दबाबमा राख्यो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भन्छन,‘मलाई पहिले नै यो खेल कठिन हुने आभास थियो। डर्टमुन्डले राम्रो प्रदर्शन गर्यो। तर, मेरो टिम सेमिफाइनल पुगेकोमा म खुसी छु।’
यस खेलमा रफिन्हा र रोवर्ट लेवान्डोव्स्कीजस्ता स्टार फरवार्ड चल्न सकेनन्। रफिन्हाको एक कमजोर प्रहारबाहेक खास अवसर सिर्जना गर्न सकेनन्।
गुइरासीको प्रदर्शनले उनलाई यस सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता (१३ गोल) बनाएको छ। प्रशिक्षक निको कोभाकले उनलाई ‘जीवन बीमा’ भन्दै प्रशंसा गरे।
११औं मिनेटमा गुइरासीले पेनाल्टीमार्फत गोल गरे। पास्कल ग्रोससँग बार्सिलोनाका गोलकिपर वोज्चेक शेज्नी ठोक्किएपछि पेनाल्टी दिइएको थियो।
त्यसपछि ४९औं मिनेटमा हेडरमार्फत दोस्रो गोल गरे। यद्यपि, ५४औं मिनेटमा डर्टमुन्डका रामी बेन्सेबाइनीको आत्मघाती गोलले खेल १–१ को बराबरीमा आयो।
७६औं मिनेटमा गुइरासीले बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोको गल्तीको फाइदा उठाउँदै नजिकबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे। यो बार्सिलोनाको डिसेम्बर यताकै पहिलो हार हो।
बार्सिलोना सन् २०१८–१९ यता पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो। अब टोलीले इन्टर मिलान वा बायर्न म्युनिखमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्।
डर्टमुन्ड भने बुन्डेसलिगामा आठौं स्थानमा छ र च्याम्पियन्स लिगको लागि क्वालिफाइ गर्न अझै पनि ६ अंक टाढा छ। तर, लिगमा पाँच खेल बाँकी छन्।
गत वर्ष फाइनल पुगेर पनि उपाधिबाट चुक्नुपरेको डर्टमुन्डले स्टेडियममा च्याम्पियन्स लिगको एन्थेम सुन्न अझै कुर्नुपर्ने देखिन्छ।