काठमाडौं। लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि सानदार जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो। जितसँगै पोखराले ६ खेलबाट आठ अंक पुर्याएको छ। पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।
योसँगै अन्तिम खेल खेल्न बाँकी झापा एफसी पनि प्रतियोगिताबाट भएको छ। झापाको पाँच खेलबाट चार अंक छ। अब ६ खेलबाट आठ अंक भएको काठमाडौं रेजर्स र एक खेल कम खेलेको चितवन एफसीमध्ये एक टोली प्लेअफमा पुग्नेछन्।
चितवनले लिग चरणको अन्तिम खेल पहिलो क्वालिफायरमा स्थान बनाइसकेको साबिक उपविजेता धनगढी एफसीविरुद्ध खेल्नेछ। यो खेलमा गोलरहित बराबरी भए पनि चितवन प्लेअफमा पुग्नेछ। पराजित भए लिग चरणबाटै बाहिरिनेछ।
पोखराको जितमा आयुष घलान र बिएस्सी विलियमले गोल गरे। ‘गर या मर’को स्थितिमा रहेको खेलको १०औं मिनेटमै पोखराले आयुषको गोलमार्फत सुरुआती अग्रता लिएको थियो।
मार्की प्लेयर समीर तामाङले बायाँ भागबाट दिएको क्रसममा आयुषले पेनाल्टी बक्सबाट हेडरमार्फत गोल गरे। जारी प्रतियोगितामा उनको यो पहिलो गोल हो।
त्यसपछि पोखरालाई अर्को गोल थप्न ४८ मिनेट लाग्यो। ५८औं विलियमले हेडरमार्फत नै गोल गरे। कप्तान नवयुग श्रेष्ठले प्रहार गरेको कर्नरमा उनले गोल गरेका हुन्।