काठमाडौं। बार्सिलोनाका डिफेन्डर एलेजान्ड्रो बाल्डे घुँडाको मासपेशी (ह्यामस्ट्रिङ) चोटका कारण केही साता मैदान बाहिर रहने भएका छन्।
शनिबार लेगानेसविरुद्ध १–० को जित निकालेको खेलमा उनी घाइते भएका हुन्। यो नतिजासँगै बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग चार अंकको अग्रता लिएको छ।
‘आइतबार बिहान गरिएका परीक्षणमा बाल्डेको बायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट देखिएको छ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। क्लबले बाल्डे कति समय मैदान बाहिर रहने भन्ने खुलाएको छैन। तर, स्पेनी मिडियाका अनुसार उनी करिब तीन सात मैदान बाहिर रहने छन्।
२१ वर्षीय लेफ्ट-ब्याकले मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो लेगमा बोरुसिया डर्टमुन्डविरुद्धको खेल गुमाउने पक्का भएको छ। साथै, अप्रिल २६ मा रियलविरुद्ध हुने कोपा डेल रेको फाइनल खेल्ने सम्भावनामा पनि प्रश्न चिन्ह्र लागेको छ।
बार्सिलोनाले डर्टमुन्डविरुद्ध पहिलो लेगमा ४–० को ठूलो अग्रता लिएको छ। यदि बार्सिलोना सेमिफाइनलमा पुग्छ भने बाल्डे त्यसअघि फिट भएर फर्किने आशा गरिएको छ।
उनको लक्ष्य मे ११ मा हुने ‘एल क्लासिको’ मा फर्कने रहेको छ।