काठमाडौं। रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिच सोमबारदेखि इङ्लिस फुटबल क्लब स्वान्सी सिटीका सहमालिक बनेका छन्।
हालसम्म उनले क्लबमा कति लगानी गरेका छन् भन्ने खुलाइएको छैन। तर, क्लबले भनेको छ,‘मोड्रिचले स्वान्सीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र मैदानभित्र र बाहिर दुवै क्षेत्रमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।’
३९ वर्षका मोड्रिच हाल पनि रियल र क्रोएसियाका लागि खेलिरहेका छन्। उनी विश्व फुटबलका सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्। उनले २०१८ मा प्रतिष्ठित बलोन डी’ओर जितेका थिए।
मैले लामो समय उच्चस्तरमा खेलेको अनुभवबाट क्लबलाई सहयोग गर्न सक्छु भन्ने विश्वास छ। मेरो लक्ष्य क्लबको सकारात्मक विकासमा साथ दिनु हो र उज्यालो भविष्य निर्माण गर्न सहयोग पुर्याउनु हो, मोड्रिचले भने।
स्वान्सी सिटी प्रिमियर लिगको पूर्वक्लब होर हाल इङ्ल्यान्डको दोस्रो डिभिजन (च्याम्पियनसिप) मा खेलिरहेको छ।
‘जुनियर टोलीदेखि लिएर पहिलो टोलीसम्मका सबै हाम्रो खेलाडीहरूका लागि मोड्रिचजस्ता प्रेरणादायी व्यक्ति अरु कोही हुन सक्दैनन्। उनको समर्थन र अनुभवले क्लबलाई अगाडि बढाउन ठूलो सहयोग पुग्नेछ,’ क्लबका सिइओ टम गोरीनजले भने।