काठमाडौं। युइएफए च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगमा मंगलबार एस्टन भिल्लाले पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग भिड्दैछ। पहिलो लेगमा ३–१ को हार बेहोरेको भिल्लाले अब आफ्नो घरेलु मैदान भिल्ला पार्कमा पुनरागमन गर्नुपर्नेछ।
तर, यस्तो अवस्थामा इङ्ल्यान्डका फरवार्डद्वय मार्कस रासफोर्ड र ओली वाट्किन्सलाई एकैपटक आक्रामक जोडीको रूपमा खेलाउनेबारे अझै निर्णय नलिइएको मुख्य प्रशिक्षक उनाई एमरी बताउँछन्।
‘अर्को कदम भनेको उनीहरूलाई सँगै खेलाउने हो। तर, त्यसका लागि अझै समय चाहिन्छ,’ उनले भने,‘रासफोर्डलाई हामीले लेफ्ट साइडमा खेलाएका थियौं। अहिले दुवैलाई स्ट्राइकरको रूपमा प्रयोग गरिरहेका छौं। यो प्रयोग गर्ने योजना छ, तर अहिले होइन।’
रासफोर्ड भिल्लाको प्रतिस्पर्धी क्लब म्यानचेस्टर युनाइटेडबाट ऋणमा आएका हुन्। पछिल्ला केही सातामा तीन गोल गर्दै प्रभावशाली प्रदर्शन गरिरहेका छन्। वाट्किन्स अहिले ‘फ्यान्टास्टिक’ महसुस गरिरहेका छन्। उनले यो सिजन १५ गोल गरेका छन्।
शनिबार साउथह्याम्प्टनविरुद्धको ३–० को जितमा बेन्चबाट आएर उनले एक गोल गरेका थिए। तर, पिएसजीविरुद्ध कुन टोली उतार्ने भन्नेबारे एमरीले अन्तिम निर्णय भने गरिसकेका छैनन्।
‘मेरो दिमागमा सुरुआती ११ को टुंगो लागेको छैन। तर, मसँग एउटा योजना छ। आवश्यकता परे अतिरिक्त समय वा पेनाल्टी सुटआउटका लागि पनि सोचिएको छ। हरेक खेलाडीले आफ्नो काम बुझ्नु पर्छ। कसरी खेलको भावना र रणनीतिलाई मिलाएर अगाडि बढ्ने भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले भने।
एमरीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न एस्टन भिल्लाले ऐतिहासिक कमब्याक गर्ने आत्मविश्वास राख्नुपर्ने बताए। ‘हामी यहाँ एस्टन भिल्लासँग इतिहास लेख्न चाहन्छौं,’ उनले अन्त्यमा भने।