काठमाडौं। पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा जसरी फुटबल खेलिरहेको त्यो अनुसार एक खेलअगाबै करिब करिब ‘प्लेअफ’ समीकरणको यात्रा सुनिश्चित गरिसकेको हुनुपर्ने हो।
तर, लिग चरणको चौथो खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा गत संस्करणको लिग लिडर पोखरा अहिले ‘गर या मर’को स्थितिमा पुगेको छ। अब पोखराको प्लेअफ यात्रा प्रतियोगिताकै कमजोर टोली बुटवल लुम्बिनी एफसीले कोर्छ या सक्काउँछ त्यो भने मंगलबार साँझ ६ बजे हुने खेलले निर्णय गर्नछ।
बुटवललाई जारी लिगमा यो खेल केवल औपचारिकता मात्रै हुनेछ। जित निकाल्न नसकेको बुटवल यस खेलअगाबै सात टोली सहभागी प्रतियोगिताको पुछारमा रहेर बाहिरिसकेको छ। तर, पोखराको प्लेअफ आशा भने यही टोलीसँग टिकेको छ।
धनगढी र ललितपुर समान ११ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसक्दा आठ अंक भएको काठमाडौं रेजर्स र सात अंकसहित चौथो स्थानमा रहेको एफसी चितवन दोस्रो क्वालिफायरको होडमा देखिन्छन्।
काठमाडौंले सबै खेल खेलिसक्दा चितवनले भने धनगढीसँग अझै एक खेल खेल्न बाँकी छ। उक्त खेल जिते या बराबरी गरे चितवनको अगाडिको यात्रा पक्का हुनेछ। योसँगै काठमाडौंले पनि क्वालिफायरको यात्रा पक्का गर्नेछ। त्यसैले पनि पोखरालाई बुटवलविरुद्धको खेल बराबरीले मात्रै पर्याप्त हुने छैन। फराकिलो गोलअन्तरले पनि जित्नुपर्ने बाध्यता छ।
यदि यो खेल जितेमा पोखराले ६ खेलबाट आठ अंक पुर्याउने छ। पराजित या बराबरी भए यही खेलमार्फत यात्रा समाप्त गर्नेछ। त्यसले यो खेल पोखराको यात्रामा निर्णायक सावित हुनेछ।