काठमाडौं। रोमेलु लुकाकुको एक गोल र दुई असिस्टको मद्दतमा नापोलीले सोमबार राति एम्पोलीमाथि ३–० को सहज जित निकाल्दै सिरी ‘ए’ लिग लिडर इन्टर मिलानसँगको दूरी तीन अंकमा सीमित राखेको छ।
बेल्जियमका स्ट्राइकर लुकाकुले यस सिजन लिगमा १२ गोल र १० असिस्ट गरेका छन्। उनकै प्रभावशाली प्रदर्शनका कारण नापोली सिजनको उपाधिका लागि इन्टरसँग प्रतिस्पर्धा गरिरहेको छ।
३१ वर्षीय लुकाकु प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा अझै परिपक्व बनेका छन्। उनले गोल मात्र हैन, उत्कृष्ट पासिङ र खेल बनाउने क्षमतासमेत देखाइरहेका छन्। सोमबारको खेलमा स्कट म्याकटोमिने दुई गोल गरेका थिए। दुवैमा लुकाकुको असिस्ट थियो।
‘रोमेलु एक उत्कृष्ट टिममेट हुन्। उनी सबैबाट धेरै अपेक्षा गर्छन्। मबाट गोल गर्न, अवसर सिर्जना गर्न र उनलाई गोल गर्न सहयोग गर्न। आज उनले दुई असिस्ट र एक गोल गरे। हामी उनलाई टोलीमा पाउँदा निकै खुसी छौं,’ म्याकटोमिनेले भने।
खेलको १८औं मिनेटमा लुकाकुले बल नियन्त्रण गरी म्याकटोमिनेलाई पास दिए। म्याकटोमिनेले बाहिरी भागबाट बल पोस्टमा पठाउँदै पहिलो गोल गरे।
एम्पोली तालिकाको दोस्रो अन्तिम स्थानमा छ। पछिल्ला १७ खेलसम्म जितविहीन यो टोलीले खेलमा केही दबाब बनाएको थियो। तर, ५६औं मिनेटमा लुकाकुले मथियास ओलिभेराको पासलाई उपयोग गर्दै बायाँ खुट्टाले शक्तिशाली प्रहार गर्दै दोस्रो गोल गरे।
त्यसको पाँच मिनेटपछि लुकाकुले एकदमै सटल क्रस गर्दै म्याकटोमिनेलाई दोस्रो गोलको अवसर बनाइदिए। जसलाई उनले आत्मविश्वासपूर्वक हेडर गर्दै पूरा गरे। ६६औं मिनेटमा म्याकटोमिनेले ह्याट्रिकको मौका चुकाए। लुकाकुको पासपछि उनी गोलकिपरसँग ‘वान भर्सेस वान’ भए पनि उनको प्रहार पोस्टमा ठोक्कियो।
यो जितले नापोलीलाई इन्टर मिलानमाथि दबाब कायम राख्न मद्दत गरेको छ। इन्टरले अब च्याम्पियन्स लिगको दोस्रो लेगमा बायर्न म्युनिखसँग खेल्नेछ। त्यसपछि बोलोग्ना र एसी मिलानसँग महत्त्वपूर्ण खेलहरू छन्।
नापोलीका लागि भने अब कुनै युरोपेली वा घरेलु कप छैन। त्यसैले बाँकी सिजन लिग उपाधिमै केन्द्रित हुन मौका दिनेछ। बाँकी खेलमा नापोलीले शीर्ष १० बाट केवल १०औं स्थानको टोरिनोसँग मात्र खेल्न बाँकी छ।