काठमाडौं। लगातार तेस्रो जित निकाल्दै साबिक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दिनको दोस्रो खेलमा धनगढीले झापा एफसीलाई १–० ले पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको धनगढीले पाँच खेलबाट ११ अंक पुर्याएको छ। धनगढी प्लेअफमा पुग्ने दोस्रो टोली हो। यसअघि नै समान अंक भएको साबिक विजेता ललितपुर सिटी एफसी प्लेअफमा प्रवेश गरिसकेको छ।
झापाले भने जारी लिगमा पहिलो पराजय बेहोरेको हो। यसअघिका चार खेलमा झापाले बराबरीको नतिजा हात पारेको थियो। योसँगै झापाको प्लेअफ सम्भावना कमजोर बनेको छ।
धनगढीलाई जित दिलाउन ६०औं मिनेटमा भएको गोल नै निर्णायक बन्यो। सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका अहमद हिजाजीले सामान्य टच गर्ने प्रयास गरेका थिए।
तर, झापाकै रक्षक दीपेश धिमालको खुट्टामा बल लाग्दै गोलमा परिणत भएको हो। हुलमुलमा बल पुग्दा गोलकिपर एन्जल श्रेष्ठले नियन्त्रणमा लिने अवसर पाएनन्।
निर्धारित खेल सकिन दुई मिनेटअघि झापाका प्रवेश खुलालले प्रहार गरेको चिप बारमा लागेर फर्किएको थियो। उक्त बललाई एरोन थापाले प्रयास गरे पनि सफल भएनन्। इन्जुरी समयको तेस्रो मिनेटमा एरोनले अर्को मौका गुमाए।
गिरोको पासमा उनले प्रहार गरेको पावरफुल सट गोलकिपर वादिल विरोउले बचाए। रिबाउन्डमा प्रविण बस्नेतले प्रयास गरे पनि अफसाइड ठहरिए।