काठमाडौं। एफसी चितवनलाई पराजित गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ सम्भावना जीवितै राखेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवनलाई २–० ले पराजित गरेको हो। योसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौंले ६ खेलबाट आठ अंक पुर्याएको छ।
धनगढीको पनि समान आठ नै अंक छ। तर, गोलअन्तरमा धनगढी अगाडि छ। ११ अंकसहित ललितपुर प्लेअफमा पुगिसकेको छ। धनगढीले दुई र ललितपुरले एक खेल खेल्न बाँकी छ। एक खेल नै खेल्न बाँकी रहेको चितवनको भने सात अंक छ।
अब काठमाडौंले पोखरा र झापाको नतिजामा भर पर्नुपर्नेछ। एक खेल खेल्न बाँकी पोखराको पाँच र दुई खेल खेल्न बाँकी झापाको चार अंक छ। झापाले सोमबार नै धनगढीलाई चुनौती प्रस्तुत गर्दैछ।
काठमाडौंलाई जित दिलायन बकारी माने र अमडोउ डिओपले गोल गरे। खेलको ३२औं मिनेटमै काठमाडौंले मानेको गोलमा सुरुआती अग्रता लिएको थियो। अट्याकिङ एरियामा पाएको फ्रिककलाई मानेले सहजै गोल गरेर
जारी लिगमा चितवनले दोस्रोपल्ट गोल खाएको हो। यसअघि ललितपुरसँग पहिलो गोल खाँदा चितवन २–१ ले पराजित भएको थियो। पहिलो हाफको इन्जुरी समयमा मार्की प्लेयर अञ्जन खड्का मैदानबाट बाहिरिए।
विपक्षी खेलाडीको ट्याकलका कारण समस्यामा देखिएका उनलाई मिडफिल्डर रोजल ढकालले प्रतिस्थापन गरेका थिए। त्यसपश्चात् चितवन झन समस्यामा परेको थियो।
५६औं मिनेटमा युसुफ मलिकले रातो कार्ड पाएपछि चितवन १० खेलाडीमा सीमित भयो। युसुफ र अलिजोन अलिजोनोभबीच केही नोकझोक चलेपछि दुवैलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड देखाए। यसअघि नै युसुफले पहिलो पहेंलो कार्ड सामना गरिसकेका थिए। त्यसैले उनलाई रातो कार्ड पनि देखाइयो।
१० खेलाडीमा सीमित चितवनविरुद्ध काठमाडौंले ७२औं मिनेटमा अग्रता दोब्बर बनायो। दिनेश हेन्जनको कटब्याकमा रोहन कार्कीले मिलाएको पासमा डिओपले गोल गरेका हुन्।
जारी लिगमा यो उनको चौथो गोल हो। योसँगै चितवन खेलमा फर्किन सकेन र काठमाडौंले दोस्रो जित हात पार्यो।