काठमाडौं। म्यानचेस्टर युनाइटेडले गोलकिपर आन्द्रे ओनानालाई आइतबार न्युक्यासलविरुद्धको इङ्लिस प्रिमियर लिग खेलमा विश्राम दिएको छ। पछिल्ला केही खेलमा गरेको गल्तीका कारण उनी आलोचनाको सिकार भइरहेका थिए।
युरोपा लिगमा लियोनसँग २–२ को बराबरीमा दुईवटै गोलमा ओनानालले गल्ती गरेका थिए। उक्त खेलपश्चात् मुख्य प्रशिक्षक रुबेन आमोरिमले उनीप्रति पूर्ण विश्वास राखेका थिए। तर, उनलाई यस खेलमा विश्राम दिएका हुन्।
‘अहिले म आन्द्रेलाई केही पनि भन्न सक्दिन, जुन उसलाई मद्दत पुर्याओस्,’आमोरिमले भने, ‘त्यसैले म स्वाभाविक रूपमा अघि बढ्छु र उचित समयमा उत्कृष्ट ११ छान्नेछु। तर म ओनानामा अझै विश्वास राख्छु।’
सन् जेम्स पार्कमा भएको खेलमा ओनाना टोलीमै छैनन्। ब्याकअप गोलकिपर अल्टाय बैयिन्दिरलाई सुरुआती ११ मा स्थान दिइएको छ भने तेस्रो रोजाइका टम हीटन बेन्चमा बसेका छन्।
ओनाना सन् २०२३ मा इन्टर मिलानबाट युनाइटेडमा ५७ मिलियन डलरमा भित्रिएका हुन्। यसअघि अयाक्ससँग उपाधि जित्ने गोलकिपरका रूपमा उनी चिनिएका थिए। तर, युनाइटेडमा आएदेखि नै उनी विभिन्न गल्तीका कारण आलोचित हुँदै आएका छन्।
गत वर्ष लगातारका गल्तीपछि ओनानाले आफ्नो मानसिक स्वास्थ्य ठीक नभएको स्वीकार गरेका थिए। पछिल्लोपटक लियोनविरुद्धको खेलमा पनि उनी विवादित देखिए।
युनाइटेडका पूर्वखेलाडी नेमान्जा म्याटिचले उनलाई ‘क्लब इतिहासमै एकदमै कमजोर गोलकिपरमध्ये एक’ भनेपछि आलोचना झनै बढेको थियो।