काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजको फाइनलमा प्रवेश गर्न घरेलु टोली हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
मिसन रोड मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर हङकङलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
जारी प्रतियोगितामा अपराजित रहँदै नेपाल फाइनलनजिक पुगिसकेको छ। नेपालले यसअघि कतारलाई आठ र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।
नेपाल लगातार तेस्रो जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ।
एक खेलमा हार बेहोरेको हङकङलाई भने नेपालविरुद्धको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा हङकङले कुवेतसँग चार विकेटको हार बेहोरेको थियो। तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकाल्दै हङकङले प्रतियोगितामा पुनरागमन गरेको छ। तर, कुवेतको पनि समान दुई अंक रहेको कारण हङकङलाई नेपालिरुद्धको खेलमा जित अपरिहाल्य छ।
हङकङ र नेपाल अहिलेसम्म पाँचपल्ट आमुन्नेसामुन्ने भएका छन्। तीमध्ये दुई खेलमा हङकङ र दुई खेलमा नेपाल विजयी भएको छ। एक खेल भने नतिजाविहीन भएको छ।
नेपालले अन्तिमपल्ट २० अप्रिल २०२४ मा ओमानमा आयोजित एसिसी प्रिमियर कपमा हङकङको सामना गरेको थियो। उक्त खेलमा नेपाल चार विकेटले पराजित हुँदा एसिया कपमा स्थान गुमाएको थियो।