काठमाडौं। कुहिनाको चोटका कारण चेन्नई सुपर किङ्सका कप्तान ऋतुराज गायकवाड इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिएका छन्। उनी बाहिरिएसँगै महेन्द्रसिंह धोनीले यस सिजन चेन्नईको कप्तानी गर्ने भएका छन्।
कोलकाता नाइट राइडर्सविरुद्धको घरेलु खेलको पूर्वसन्ध्यामा गायकवाड घाइते भएका हुन्। यो चेन्नईका लागि ठूलो धक्का हो। हुन त चेन्नईले यस सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन। आफ्नो पहिलो पाँचमध्ये चार खेलमा हार बेहोरेर्दै अंक तालिकामा नवौं स्थानमा छ।
मार्च ३० मा गुवाहाटीमा राजस्थान रोयल्सविरुद्धको खेलमा गायकवाड घाइते भएका थिए। उक्त खेलमा उनले ब्याटिङ ६३ रन बनाए। यसपछि उनले थप दुई खेल खेले र ५ अप्रिलमा चेन्नईमा दिल्ली क्यापिटल्सविरुद्ध पाँच र ८ अप्रिलमा मुल्लानपुरमा पञ्जाब किङ्सविरुद्ध एक रन बनाए।
‘उनलाई गुवाहाटीमा चोट लागेको थियो। हामीले एक्स रे गरायौं र एमआरआई पनि गरायौं। तयसपछि कुहिनामा फ्याक्चर भएको पत्ता लाग्यो,’ चेन्नईका मुख्य प्रशिक्षक स्टीफन फ्लेमिङले भने।
उनले थपे,‘उनी अब प्रतियोगिताबाट बाहिरिनेछन्। हामीसँग एमएस धोनीजस्ता अनक्याप्ड खेलाडी छन्, जसले आइपिएलको बाँकी खेलमा कप्तानको जिम्मेवारी सम्हाल्नेछन्।’
४३ वर्षीय धोनीले सन् २००८ देखि २०२३ सम्म चेन्नईको नेतृत्व गरेका थिए। त्यसपछि उनले गायकवाडलाई कप्तानी सुम्पिएका हुन्। उनले सन् २०२२ मा रविन्द्र जडेजालाई कप्तानीको जिम्मेवारी पनि सुम्पेका थिए।
तर, टोलीको खराब नतिजापछि उनले सिजनको बीचमा नै राजीनामा दिए। धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा पाँचवटा आइपिएल उपाधि जितेको छ।