काठमाडौं। चेन्नई सुपर किंङ्सविरुद्धको घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै पञ्जाब किंङ्सका ग्लेन म्याक्सवेललाई इन्डियन प्रिमियर लिग (आइपिएल)ले उनको म्याच फिको २५ प्रतिशत जरिवाना र एक डिमेरिट अंक दिएको छ।
यद्यपि, आइपिएलले म्याक्सवेललाई जरिवाना गर्नुको कारण स्पष्ट पारेको छैन। विज्ञप्तिमा भनिएको छ,‘म्याक्सवेललाई धारा २.२ (खेलको समयमा उपकरणको दुरुपयोग) अन्तर्गत लेभल १ अपराधको दोषी ठहराइएको छ र उनले म्याच रेफ्रीसमक्ष आफ्नो गल्ती स्वीकार गरेका छन्।’
पञ्जाबले ब्याटिङ गर्ने निर्णय गरेपछि म्याक्सवेल छैटौं नम्बरमा आएका थिए। तर, दोस्रो बलमा रवीचन्द्र अश्विनले उनलाई क्याच एन्ड बोल्ड गरे । यद्यपि, प्रियांश आर्यको ४२ बलमा १०३, शशांक सिंहको ३५ बलमा अविजित ५२ र मार्को जानसेनको १९ बलमा अविजित ३४ रनको मद्दतले पञ्जाबले ६ विकेट गुमाउँदै २१९ रन बनाउन सफल भयो। चेन्नईले लक्ष्य पछ्याउने क्रममा म्याक्सवेलले रचिन रवीन्द्रलाई स्टम्पिङ गरेर पञ्जाबलाई पहिलो सफलता दिलाए।
म्याक्सवेलका लागि अहिलेसम्म आइपिएल २०२५ त्यति खास बन्न सकेको छैन। गुजरात टाइटन्सविरुद्ध उनी पहिलो बलमै आउट भए भने राजस्थान रोयल्सविरुद्ध उनले २१ बलमा ३० रन बनाए। उनले अहिलेसम्म तीन विकेट लिएका छन्।
पञ्जाबले अर्को खेल शनिबार हैदराबादमा सनराइजर्स हैदराबादविरुद्ध खेल्ने तालिका छ।