काठमाडौं। कुवेतले चारदेशिय टी–२० सिरिजमा नेपाललाई १८६ रनको विशाल लक्ष्य दिएको छ।
मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको हो। कुवेतका ओपनर क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। ३० बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
मिट भावसारले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए। बिलाल ताहिर ३२, रविजा सन्दारुवान २६, कप्तान मोहम्मद असलम १७ र उस्मान पटेल १३ रनमा आउट भए।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। नन्दन यादवले दुई विकेट लिँदा कुशल भुर्तेल र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।